under featured image
Sky Link

एयर मेल खाम भित्रको त्यो प्रेम…

प्रेम पत्र

Above News Headline

प्रिय, बु …..
प्रेम सप्ताहको पहिलो दिन विहानै मर्णिङवाक वाट फर्कदै गर्दा सुनेको प्र्रेमिल गीतले मनमा निकै रोमान्चक वनाएको अनि अनासायै नमज्जा पनि लागिरहेको थियो । पतझर मौसम सकिएर अन्नपूर्ण हिमाललाई क्षितिजमा पारेर आँगनीमा गुलाफका सुकेका बोटमा पातहरु पलाउँद गरे पनि म भने ओइलिएको अनुभव गरेपछि यो पत्र लेख्दैछु । अस्ति बार्दलीमा चुरोट पिउँदै अतितलाई सम्झिएर फेसवुकमा विहानै पोष्ट गरेको थिएँ ः
“तिम्रै पर्खालको गुलाफ जस्तै हुने मन छ
आफँु चुडिएर तिमीलाई जोडिदिने
ह्याप्पी रोज डे ।

तिन हरफ लेखेर पोष्ट हुन्जेलसम्म चुरोटको ठुटोले औंला समेत पोलेको थाहै पाइनँ । अब त ओठ निचोर्दा दूध निस्कने उमेर पनि कहाँ रह्यो र ? जतिबेला सियोको हल्का घोचाइ पनि ठूलो लाग्थ्यो । आजकल त आगोले पोलेर भित्रि बोसो नदेखिएसम्म दुखाई नै थाहा हुँदैन । हुन त फेसबुक नबनेकै जमानामा हाम्रो प्रेमले बिट मार्यो तर कहिलेकाही सोच्छु फेसबुकमा खोज्दै मैले तिमीलाई हेरे जसरी मलाई पनि हेर्छयौ हौली । 
हामी आजसँगै हुन्थ्यौ भने यो चालिसे उमेरमा पनि मेरो पोष्टमा पहिलो रातो र मुटु रुपी प्रेम चिन्हसँगै कमेण्ट पनि तिम्रै आउथ्यो होला । ल्याण्डलाइन फोन र चिठीको जमानामा तिमीले एयर मेल खाम भित्र हालेर साथीसँग पठाएका पत्र आज पनि मसँग सुरक्षित छन् । कालो मसीले तिमीले लेखेका ति अक्षर फिका भएका छन् तर पनि प्रेम पत्रको अन्तिम वाक्यमा सधैं आँखा जान्छ “पढ्न काठमाण्डौ आएको एक महिना भइसक्यो काले, हामीसँगै चिया कहिले पिउने ?”
तिमीलाई यादै होला कलेजको ब्रेकमा हामीले खाजाघरमा चिया पिउँदा साहुनीले भिडभाडमा चियाको पैसा लिन बिर्सिएको दिन । गते त ठ्याक्कै याद भएन तर साउने झरीको दिन थियो । कलेज सकिएपछि सोहि दिन भिज्दै न्यूरोडमा पिएको दोस्रो कप चियाको याद झलीझली आइरहेको छ । खरको छानो वाट चुहिएर तपतप पानी कपमामा पोखिदाँ त्यसको झड्काले चियाको बूँद तिम्रो ओठको लालीमा टल्किरहेको त्यो क्षण….. ।

Bg Hospital

जागिर खाना थालेपछि हामी दुबै चियाबाट कफी र खाजघरबाट क्याफेमा उक्लिदै गर्दा हामीले पिएको दुई कप कफी मध्येमा तिमिले एउटा कपमा त चिनी नै राख्न विर्सिएको त्यो पल याद गर्दा गुलाफको रातो रंग पनि फिका लाग्छ । आज चाहेर पनि म चियामा चिनी राखेर खान सक्दिनँ, चिनी रोगले इन्सुलिन लिदाँ लिदाँ मरेका अधबैशें छालामा दुखाई पनि के होस् ।
कलेजमा म एक ब्याच ठूलो भएकोले तपार्इंवाट हामीले वोल्न शुरु गर्दा त्यसको दुई हप्तामै कस्तो असहज भयो दुबैलाई । त्यो तपाई शब्दले बनाएको पर्खाल भत्किएर तिमीमा झर्न हप्तौं लाग्यो । तिमीले नै पहिलो पटक भनेको कुरा “मलाई सबै भन्दा मन पर्ने शव्द तिमी हो, हजुरले तिमी भन्ने हो भने मैले संसार जितेको कल्पना गर्न सक्छु ।” मैले परिस्थिति सहज बनाएँ, त्यसो भए दुवैले तिमी भनौं, भोलि वेलुकी चार वजे तिर चिया भेट गरौं न त ? मेरो मुखवाट पहिलो पटक तिमी शव्दसँगै निस्किएको “तिमी साच्चीकै तिमी हौ ?” पुरक शव्दमा तिम्रो प्रेमिल परिवर्तित अनुहार सम्झेर वेचैन नभएको आज पनि कुनै पल छैन वु….। अनुहार भरी जिङ्ग्रिङ अस्त व्यस्त हल्का दाह्रीले तिम्रो मनस्थितीलाई अस्त व्यस्त वनाएको उहिलेका पल । तिमिले खै कति सम्झिएकी छौ कुन्नी ? साच्चै तिम्रा केशहरु पनि त फुले होलान् नि है ? सन् १९९८ ताका भिजिट नेपाल वर्ष मनाउँदाको समय भर्खरै २० बसन्त टेक्दै गरेका हामी थोत्रो बसमा इलाम घुम्न गएका थियौं । अहिले भिजिट नेपाल २०२० को प्रचारको क्रममा २२ वर्ष पछि इलाम जाँदा तिम्रै उद्योगमा बनेको भिजिट नेपाल २०२० लेखेको झोला भरी तिमीले लेखेका एयर मेल भित्रका रोमान्चक सम्झनाहरु र तिमिले फिर्ता दिएका मेरा भावनाहरु साथमै बोकेर फुलेका झस्स दाह्री हुलियामा गत हप्ता पाचौं पटक इलाम गएको थिएँ । कास आज हामीसँगै हुन्थ्यौ भने २० वर्ष पुगेका हाम्रै छोराछोरीलाई हाम्रो प्रणय स्थल देखाउथ्यौं । प्रेमिल जोडी मिलेर इलामीहरुलाई हाम्रो शहर पोखरा घुम्न निम्ता दिन्थ्यौ तर यि सबै दिवास्वप्न भएका छन् किनकी तिम्रो आफ्नै परिवार छ । तिम्लाई हेर्न बनाएको अर्को फेसबूक अकाउन्टबाट चियाउँदा मैले केन्या देशको चिया बगान देख्छु तर देख्दिन इलामको कन्याम चिया बगान जहाँ हामी पग्लिएका थियौं कुहिरोको घुम्टो भित्र ।
हरेक वर्ष प्रेमिल महिना फेब्रवरी शुरु भएपछि चालिस वर्ष कट्दा समेत दुई दशक अगाडिको यादले आफुलाई केटौले उमेरको ठान्छु । तिमी काठमाण्डौ पढ्न गएको चार महिनापछि भौतिक रुपमा भेट्दा पाउँदा खुशीले रोएको हिजोअस्ति झै लाग्छ । निकै लामो समय पछि भौतिक रुपमा भेटिदा सेन्ट भ्यालेन्टाईनको पहिलो भेट भन्दा वढी उमंगित भएका थियौ हामी । अनि वाघ झम्टाईको त्यो एक अर्काको न्यानो आलिंगन… अहिले पनि मेरो लागि बाँच्ने आधार बनेको छ । मैले भन्दा वढी तिमीले प्रेम गथ्र्यौ मलाई त्यस्तै लाग्थ्यो । यौनले प्रेमलाई कमजोर पारिदिन्छ त्यसैले म त्यो गर्दिन त्यसमा तिमी पनि पुर्ण सहमत थियौ ।
प्रेममा भौतिक सम्पत्तिले केही असर नगर्ने भन्ने तिमीले नै आफ्नै हातले चिठी लेखेर हामी अब सँगै रहन सक्दैनौ भन्दा मलाई २०७२ सालको भूकम्पमा भन्दा पनि ठूलो धक्का लागेको थियो दुई दशक अगाडि । कसैलाई आदत वनाउनु पहिला यसको आदत वुझ्न जरुरी हुँदो रहेछ । तिम्रो आदत वुझ्न सकिन मात्रै तिमीमा आदत परेँ । प्रेममा तिमीलाई यति भिजाएको थिएँ कि तिमी तिमी नै थिईनौ मेरो प्रेम थियौ, जब तिमी गयौ म पनि प्रेमसँगै सती गएँ ।
आज ति रमाईला स्थानहरु मरुभूमि झैं निरस र उजाड मात्रै लाग्दैनन् छाती दुःखाउने पलहरु पनि वनेका छन् । पहिले प्रेमले भिज्ने आँखाहरु आज तिनै प्रेमको सम्झनामा रुने गरेका छन् । शायद तिमी भएको भए दुनिया थर्कने गरी रुने थिएँ, अफसोच मेरो प्रेम तिमी आज छैनौ । बिछोडको एक महिनापछि संगालेका प्रेमपत्रहरु फोनमा पढेर सुनाउँदा तिमीले “प्रेम पत्रहरु जोडेर सत्य कथामा कथा लेख पैसा आउँछ” भन्दा बलिन्द्र आँशु झरेका थिए, न्यूरोडमा चिया खाँदा झरेको वलेनी झैं । समयको गतीसँगै मेरो वाच्ने आधार बनेका केहि हाम्रा पलहरु आज पनि सँगै छन् । कहिल्यै जोड घटाउ भएन मेरो मायामा तर तिमीले गुणा गरेर वसेकि रहिछौ ।
तर पनि मेरो पहिलो प्रेम तिमी हौ । म मेरो प्रेमका प्रत्येक दिनलाई भयालेन्टाईन डे भन्दा वढी महत्व दिन्छु । तर आज तिमी छैनौ । त्यसैले आजको दिन कसैको प्रेम आदत पछि विछोड नहोस् भन्ने कामना गर्छु । अनि गुलाफ फुल्ने तिम्रो घरको त्यो पर्खाल र करेसा आज कम्पाण्ड र प्राडो राख्ने ग्यारेजमा परिवर्तन भएछ, देखावटी सुन्दरता जस्तै । त्यसैले त भन्न मन लाग्छ,
“तिम्रै पर्खालको गुलाफ जस्तै हुने मन छ
आफँु चुढिएर तिमीलाई जोडिदिने
ह्याप्पी रोज डे बु …।
यो लेखि सक्दा प्रणय सप्ताहको तीन दिन कटेर आज प्रमिस डे आएको छ र तिमलाई कहिल्यै नभुल्ने कसम खान्छु । मन्दिरमा आस्था नराख्ने म आजभोलि केहि आस्तिक हुन थालेको छु तिम्रै लागि । मन्दिर देख्ने वित्तिकै पहिलो शव्द तिम्रै लागि मुटु विहिन छाती दुखाउँदै जप्ने गर्छु “तिम्रो दुखमा सँधै साथमा रहन सकँु ।” तिम्रा प्रत्येक आँशुका मोती मेरै हातले पुछ्न सकँु, तिम्रा आँशुका थोपा जमिनमा झर्नु भनेको तिमी प्रतिको मेरो प्रेम कमजोर हुनु हो नि है बु….?

उफ्…. यत्ति लेखिसक्दा अनायासै मुटु विहिन छाती फुट्ने गरी त्यहि गित सुन्न मन लाग्यो जुन तीन दिन अगाढी मर्णिङवाक बाट फर्कदा वाटोमा सुनेको थिए । अनि मलाई पनि वच्चा नै बन्न मन लागेको छ आज पनि तिम्रो प्रेममा । माफ गर वु…. तिम्रा ति सव सम्झना वन्द कोठा भित्र छरपस्ट पारेर फेरी एक पटक पागल हुन मन छ तिमी शव्दको सुरुवातमा तिमी पागल भए जसरी ।
“तिमी रोएको पल तिमिलाई हँसाउन नसकुँला
तर तिमीसँगै म रोईदिन सक्छु…..।”
अलबिदा, बु ….. ।
तिम्रो विष्णु

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.