under featured image
Sky Link

हेर्ने र देख्ने नजर

     लेखक: सागर अर्याल

Above News Headline

सागर अर्याल, चैत्र २९, नवलपुर  

          एउटा मान्छे नयाँ बन्दै गरेको मन्दिर हेर्नका लागि जान्छ । मन्दिर परिसरमा देवताको मूर्ति बनाउदै गरेको मूर्तिकार भेट्दछ । मूर्ति बनाउदै गरिरहेको हेरि रहँदा अकस्मात उसको नजर मूर्तिकार भन्दा केही मिटर मात्र पर रहेको मूर्तिमा पर्दछ जुन मूर्तिकारले अहिले बनाई रहेको मूर्ति संग हुबहु मिलेको छ । यो देखेर आश्चर्य चकित हुदै त्यो मान्छेले मूतिकार लाई सोध्दछ “के तँपाईलाई एउटै देवताको दुई ओटा मूर्ति बनाउन भनिएको छ र ? किन अर्को मूर्ति बनाउँदै हुनुहुन्छ?”

“अँह छैन, बनाउन भनेको त एउटा मात्रै हो, मैले लिने ज्याला पनि एउटै को हो”, मूर्तिकारले भने । तर त्यो पहिलो मूर्तिको लगभग अन्तिम समयमा आएर बिग्रन गयो । त्यसैले अर्को मूर्ति बनाउन थालेको हुँ ।

मूर्तिकारको जवाफ सुनेपछि त्यो मान्छेले पहिलेको मूर्तिलाई राम्ररी हेर्न थाल्यो । धेरै बेर सम्म नियालेर हेरे पछि पनि उसले उक्त मूर्तिमा बिग्रिएको ठाउँ नदेखे पछि मूर्तिकार लाई सोध्यो, “होइन यहाँ त कहीँ पनि बिग्रेको देखिंदैन नि?”

“मूर्तिको नाक तिर केही कोरिएको छ, मुर्तिकारले जवाफ दियो ।” तर खै मैले त त्यस्तो बिग्रेको कहीँ पनि देख्दैन त । कि यहाँबाट नदेखिएको हो र ? हैन, “यो मूर्ति कहाँ निर राख्न गइरहेको छौं नि ? त्यो मान्छेले सोध्यो ।”
“यो मूर्तिलाई २० फिट उचाईको खम्बा माथि राखिने छ ।” मूर्तिकारले भन्यो । आश्चर्य चकित हुँदै त्यो मान्छेले फेरि आफ्नो जिज्ञासा राखे, “यो मूर्तिलाई २० फिटको उचाईमा राखिँदै छ भने मूर्तिको नाकमा रहेको त्यस्तो सानो कोरिएको लाई कोट्याइ लाई कस्ले पो देख्न सक्छ र ? यहाँबाट पटक्कै देखिएको छैन ।
”त्यो मान्छेको जिज्ञासा सुनेपछि मूर्तिकारले उसलाई एकचोटी हेरे र मुस्कुराउदै भने: “तपाईहरुले नदेखे पनि मेरो आँखा त्यही बिग्रेको ठाउँमा जान्छ र त्यही आँखा रोकिन्छ, साथै भगवानले पनि देख्छन् ।”

“त्यो बिग्रेको ठाउँ भगवानले र मैले त सधैं देख्छौं” । त्यसैले मेरो मनले नमानेर अर्को मूर्ति बनाउँदै छु । किन भने मैले गरेको गल्तीलाई ढाक छोप गरें वा वेवास्ता गरें भने मेरो जीवन भरीलाई पश्चाताप हुन्छ भने मूर्ति त्यहाँ रहुञ्जेल त्यो कमजोरी रही रहन्छ । मैले आत्म सन्तुष्टीको लागि पुनःअर्को मूर्ति बनाउँदै छु ।

वास्तवमा हामीले हाम्रो सामाजिक जीवन होस वा व्यवसायिक जीवनमा जानी जानी वा अन्जानमा भएका गल्ती वा कमजोरीहरु भएका हुन्छन् र ती कमजोरीहरु लाई ढाकछोप गर्ने तथा नदेखे जसरी छोड्दछौं । यसरी वेवास्ता गरिएका गल्ती र कमजोरीहरुले पछि गम्भीर सजाय दिई रहेको हुन्छ ।

Bg Hospital

हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण पनि धेरै जसो असावधानी, हेलचक्रयाई, वेवास्ता र लापरवाही गरेको कारणले बृद्धि भई रहेको छ । बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी र आफन्तजनको एक प्रकारको वाद्यता होला, तर अरु सामान्य र सर्व साधारणमा संक्रमण फैलिनु भनेको अधिकांश असावधानी नै हो । अब यसको अन्त्य कसरी हुन्छ, खै अहिले भन्न सकिने अवस्थामा छैन ।

यसै गरी हाल विश्व जलवायु परिवर्तनको पनि ठूलो शिकार भएको छ । वातावरण विनास, प्राकृतिक श्रोतको दोहन, दीगो विकासमा नजर अन्दाज, पारिस्थितिक प्रणालीको बिग्रह (Breaking Eco-system) र क्षणिक स्वार्थ पूर्तिमा मानवजाती रमाई रहेको छ । यसैको परिणामले विभिन्न प्रकारका विनाश, प्राकृतिक विपत्ती र घटनाहरु भई रहेका छन् । हामी सबैलाई थाह छ, यो यो गर्नु हुँदैन, यसले वातावरणमा नकारात्मक असर पार्दछ, वातावरण बिग्रे मा हुने परिणाम पनि थाहा छ ,तर हामी अझै पनि वेवास्ता गर्दै छौं । अघि उल्लेख गरिएको मूर्तिकारको जस्तो सोच र विचार हामीले राख्न सकेका छैनौं । त्यसैले यसको परिणाम पनि हामीले भोग्नुनै पर्दछ । मानव जातीले आफूलाई जति विकसित गरेपनि, जति सम्पन्न शाली भएपनि प्रकृति लाई कहिल्यै पनि जित्न सक्दैन । प्रकृतिको सामू मानव जाती हार्नै पर्दछ । त्यसैले हामीले यो पृथ्वीमा मानवजाती को अस्तित्व रक्षाको लागि वातावरण लाई अहिलेदेखि नै जोगाउँ, जलवायु परिवर्तनको दुष्परिणाम रोकौं । यदि वेवास्ता गरी रह्यौं भने, पछि पश्चाताप गरेर केही गर्न सकिने अवस्था रहँदैन ।

प्रायः हामीले आफ्ना सहपाठी वा ईष्टमित्रहरुसंग आफूलाई दाँज्छौं । उस्ले यस्तो प्रगति गर्यो, मैले गर्न सकिन । उ भन्दा म के कुरा मा कमजोर थिए र ?आफूले आफूलाई सोध्छौं । हामी अहिले जे छौं, जुन अवस्थामा छौं, त्यो हामीले विगतमा गरेको सकारात्मक कार्य हरु र गल्ती वा कमजोरीहरुको संयुक्त परिणाम हो । विगतमा गरेका गल्ती हरुलाई पुनः स्मरण गर्दै अहिले पछुताउन थाल्यौं भने त्यही पछुतोले हामीलाई अघि बढ्न दिंदैन । त्यसैले मूर्तिकारले झैं आफ्नो गल्ती आफैले पत्ता लगाई सुधार गर्न सक्यौं भने त्यसको परिणाम पनि राम्रो आउँछ । हामी अरु जस्तै प्रतिष्पर्धि बन्न सक्छौं । आफूलाई सफल बनाउन सक्छौं, उदाहरणीय बन्न सक्छौं । जीवनमा पश्चाताप गर्नु पर्दैन ।

अहिले मानिसहरु बिज्ञान र प्रविधिको विकास संगै विद्युतिय सामाजिक सञ्जालमा बाँधिएका छन् । सायद उनीहरुलाई ती सामाजिक सञ्जालको तलबाट छुटाउन, एउटा कुलतमा फसेको व्यक्तिलाई पुर्नस्थापना केन्द्रमा लगेर राखे जस्तै सामाजिक सञ्जालको पुर्नस्थापना केन्द्रमा लगेर राख्नु पर्ने दिन आउन सक्छ । आफ्ना मनका हर्ष होस वा दुःख त्यही पोखेको देखिन्छ । त्यसैमा एकले अर्कोलाई वाह वाही व्यक्त गरेका हुन्छन् । आफ्नो जीवनको महत्वपूर्ण समयलाई विद्युतीय वाह वाहीमा रमाएका वा रोएका छन् मान्छेहरु । वास्तव मा त्यो वाह वाही वा गोहीका आँशुले समय बर्वादी वाहेक अरु केही हुदैन जस्तो लाग्छ । सञ्चारका विभिन्न माध्यमहरु छन् । ती लत नलाग्ने माध्यमहरुको अधिकतम उपयोग गर्न सकिन्छ । यही सामाजिक सञ्जाललाई पनि आफ्नो वशमा राखेर, लतमा नफसी सकारात्मकता र नयाँ उर्जाको लागि उपयोग गर्न सकिन्छ । तर, धेरैले दुरुपयोग गरेको वा लतमा फसेको पनि देखिन्छ । यहाँ पनि हामीले नजानिदो गरी गल्ती र भुल गरी रहेका छौं । पछिको परिणाममा वेवास्ता गरी रहेका छौं । त्यसैले, आफूलाई आफ्नो लक्ष्य र भविष्य प्रति चिन्तनशील बनाउँदै, अहिले गरेका गल्ती र कमजोरीहरु सच्याउन जरुरी छ ।

अन्त्यमा आफूले आफूलाई हेरौं, आफ्नो कार्यहरुलाई फर्केर नियालौं, आफ्नो दिनचर्याको पुनरावलोकन गरौं र आफ्नो गल्ती, आफ्नो कमजोरी पहिल्याउँ । समय मै आफूलाई सच्याउँ । यदि आफूलाई जानी जानी गल्ती तर्फ डोर्याएनौं भने हाम्रो गन्तव्य स्वतः सही ठाउँमा हुन्छ । सकिन्छ भने, अरुलाई पनि सकारात्मकता र सही बाटोमा डोर्याउने कोशिस गरौं, खुसी बाँडौं, यदि सकिदैन भने अरुको खुसीलाई नखोसौं । हाम्रो जीवनको यात्रामा विगत सम्झेर अवश्यपनि पछुताउनु पर्दैन, हामीले आफूलाई सधैं सन्तुष्ट राख्न सक्छौं । हेर्ने नजर ले नदेखे पनि देख्ने नजरले देखेको हरेक कमी, कमजोरी र गल्तीहरु सच्याउँदै जाउँ । मेरा विचारमा सहमति वा विमति हजुरको ईच्छा… ।।।

लेखक: सागर अर्याल

मुक्तिनाथ विकास बैंक लि.
गोपिगंज, नवलपरासी

(लेखक हाल मुक्तिनाथ विकास बैंक स्थित साना तथा लघुबैकिङ्ग डेस्क प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । )

Trident conecpt
vianet inside
PCC Mela

Leave A Reply

Your email address will not be published.