
पोखरा भ्वाइस सम्वाददाता, पोखरा ३० पुष । बलिउड अभिनेत्री तापसी पन्नु आफ्नो अभिनयका कारण दर्शकमाझ लोकप्रिय छिन् । उनले अभिनय गरेका चलचित्र ‘हसिन दिलरुबा’ र ‘रश्मी रकेट’ले यो वर्ष दर्शकको मन जिते ।
तापसी केही समयदेखि पूर्व ब्याडमिन्टन खेलाडी मथियास बोसँग प्रेममा छिन् । तर, तापसीले आफू बिहेका लागि हतार नगर्ने बताएकी छन् । तापसीले सञ्चारकर्मीसँग भनिन्, ‘मसँग बिहेको लागि कुनै योजना तत्काल छैन । किनकि, मैले अझै केही चलचित्रको काम गर्नुछ । म हतारमा बिहे गर्ने सोचमा नै छैन ।’

तापसीले अगाडि भनिन्, ‘म निक्कै नै आनन्द र शान्त वातावरणमा बिहे गर्न चाहन्छु । मलाई बिहेका लागि कुनै हतारो नै छैन । बिहे गरेपछि जिन्दगीमा ठूलै परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन । त्यसैले तत्काल मलाई बिहे गर्न आवश्यक छ जस्तो लाग्दैन ।’
तापसीले आफू र आफ्नो परिवारलाई अझै पनि बुझ्न आवश्यक रहेको सुनाइन् । उनले भनिन्, ‘मानिस शारीरिक र मानसिक रुपमा स्वस्थ हुनुपर्छ । मलाई आशा छ, आउँदो वर्ष झनै शान्तपूर्ण हुनेछ । अर्को वर्ष आश्चर्यजनक रुपमा लकडाउन हुने छैन ।’