
पोखरा भ्वाइस सम्वाददाता, पोखरा, फागुन ३, गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष खुला ठेलो(छेलो) प्रतियोगिताको उपाधि पुरुष तर्फ किरण विक र महिलातर्फ ऋषिसरा थापाले जितेका छन् ।
प्रदेश सरकार स्थापनाको अवसरमा गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा मंगलबार पोखरा रंगशालास्थित भलिबल खेल मैदानमा भएको खुला ठेलो (छेलो) प्रतियोगितामा किरणले २२ पाउन्डको छेलो १४.०७ मिटर टाढा दूरीमा फाल्दै पुरुषतर्फको उपाधि जिते ।

त्यस्तै महिलातर्फ ऋषिसराले १२ पाउन्डको छेलो १०.७३ मिटर टाढा दूरीमा फाल्दै महिला तर्फको उपाधि जितिन् । उनिहरुले २०÷२० हजार रुपैयाँ प्राप्त गरे । ३ इभेन्टमा भएको प्रतियोगितामा सानो छेलोतर्फ पनि किरणले नै उपाधि जिते । पुरुषतर्फ रोहित विक दोस्रो र मिलन विक तेस्रो भए । महिलातर्फ सरस्वती गुरुङ दोस्रो र शर्मिला थापा तेस्रो भए भने सानो छेलो तर्फ रविन विक दोस्रो र रोहित विक तेस्रो भए । उनिहरुले क्रमसः १०÷१० र ५÷५ हजार रुपैयाँ प्राप्त गरे ।
कार्यक्रममा छेलो खेल प्रतियोगितामा महत्वपूर्ण योगदान पुर्राएको भन्दै अग्रज खेलाडी दक्षबहादुर गुरुङलाई सम्मान पत्रले सम्मान गरिएको थियो । २०२१ देखि खेलकुदमा सक्रिय गुरुङ जिल्ला स्तरीयदेखि राष्ट्रिय हुँदै वेल्जियममा भएको छेलो खेलमा समेत प्रथम भएका थिए।
प्रतियोगितामा पुरुषतर्फ ४० र महिलातर्फ ७ गरी ४७ जना खेलाडीहरुले सहभागिता जनाएको प्रतियोगिता संयोजक योगेन्द्र शेरचनले बताए । विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ, प्रदेश सभासद मोहन रेग्मी, पोखरेली मञ्च युकेका अध्यक्ष मनप्रसाद गुरुङ, परिषद् उपाध्यक्ष ध्वजकुमार गुरुङ लगायतले पुरस्कार वितरण गरे ।