
पोखरा भ्वाइस सम्वाददाता, फागुन २५, भर्सटायल अभिनेता सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’ बैशाख १६ मा आउने भएको छ । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस दिन काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले चलचित्रको रिलिज मिति घोषणा गरेका हुन् । यो चलचित्र यस अघि माघ २८ मा प्रदर्शन गरिने भनिएको थियो तर कोरोना कहरले गर्दा प्रदर्शन हुन सकेको थिएन ।
हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको चलचित्र एउटा अर्गानिक नेपाली चलचित्र बनेको निर्माण पक्षले बताएको छ। चलचित्रमा गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाईएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा कार्यकारी निर्माता देबेन्द्र मानन्धर बिश्वस्त रहेका छ्न् ।

खिल बहादुर गुरुङ निर्देशित चलचित्र ‘मन्त्र’ मा सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ ।
साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले लेखेको चलचित्रमा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ भने मुख्य सहायक निर्देशन तारा न्यौपाने गरेका छन।