
प्रकृतिको भूस्वर्ग पञ्चासे : नवराज पौडेल
सुन्दर नगरी पोखराको सौन्दर्यात्मक बिशेषताले मन्त्रमुग्ध हुँदै काँडे पुगिसकेपछि सुरु हुन्छ पञ्चासे यात्रा।५७०० हेक्टर पुष्प बगानयुक्त जंगल सुरु हुन्छ जब अनि प्रकृतिले मान्छेलाई छुट्टै संसारमा सयर गराईहाल्छ।काँडेबाट रमणीय यात्रा चाल्दा नचाल्दै भदौरे बस्ती पुग्नासाथ गुरुङ साँस्कृतिक होमस्टेकी गुरुङसेनी पुष्प गुच्छार माला लिएर आईहाल्छिन्। रमणीय प्राकृतिक पदयात्रा र प्रकृति पारखका साथै भदौरे देउराली क्षेत्रमा स्थानीय अर्गानिक खानाले झनै लोभ्याईदिन्छ। भदौरेकी गुरुङसेनी दिदिले भट्टीमा पार्न राखेको तिनपाने र रक्सी (नारीपा) को त कुरै छाडौ। पोखराले फर्फराएको पर्याबरणीय स्वच्छताको सिरेटो झनै बढ्दै जान्छ अनि थोरै चिसो चिसो लाग्न थाल्छ। ढुङ्गाले बनेका घर, गुरुङ, समूदाय, संस्कार र संस्कृति अनि रमणीय ग्रामीण जनजीवन र स्थानीय महिलाहरुले चलाईरहेका पर्याबरणमैत्री होमस्टेहरुको तादाम्यता पञ्चासे पर्याबरण रप्रकृतिसँग गासिन्छ जस्ले आगन्तुकको मनै जित्छ। जबजब यात्रा पञ्चासे भञ्ज्याङ तिर उकालो लाग्छ तबतब छुट्टै पर्याबरणको आनन्द छाउँछ। चारैतिर जंगलको हरियाली, सेता दन्त्यलहर हाँसे झै हाँसिरहेका हिमाल र चराचुरुङ्गीको सुसेली सुन्दा जोकोही सबै पीडा बिर्सन्छ। यात्रामा देखिने कैयन चरा च्याखुरा, कालिज, मृग रबन्यजन्तुहरुको सहज अबलोकनले मन झनै चंगा बनाउँछ। तोरणझै बाटिएका नागबेली, प्रकृति सजाउँन लहरै फूलिरहेका सुनाखरी देख्दा लाग्छ बिबाहमण्डप सिँगारिएको । बाटोमा सजिएका पुष्पबगान र मानवअस्तित्वको प्रतिकका रुपमा खडा भएका छत्रे उन्यु झनै कति राम्रा। प्रकृतिको बगैँचामा सयर गर्दैगर्दा यात्रामाभेटिन्छ आहलडाडा सिमसार र ताल। सायद त्यो तालको दृष्य र बगिरहेका ढुंगे धाराहरु झनै आकर्षक ठहर्छन्। यात्रा थकान बिसाएर प्यास मेटिसकेपछि पुन उकालो लागेपछि अनेकन जैबिक बिबिधता, बहुमुल्य सुनाखरी रजडीबुटी सहजै अबलोकन गर्न पाईनु एक महत्त्वपूर्ण सम्झना बन्नपुग्छ। केही समयपछि पर्याबरण बिचरण गर्दै , प्रकृतिसँग लडीबुडी खेल्दै उकालो लागेपछि हरियो प्राकृतिक चहुररुपी कार्पेट बिछ्याएर र लालीगुँरासको गुच्छाको लाबालस्कर पुष्पबगान सजाएर भञ्ज्याङका गुरुङ पर्यटन ब्यवसायी अभिबादन गर्दै आडैमा आईपुग्छिन्। चारैतिर खुलेको डाडो, स्वच्छ कञ्चन हरियाली पर्यावरण, टलटल टल्किने हिमाल यहाँकाअबिष्मरणीय दृष्य हुन्। पञ्चासेको काखमा रहेको भञ्ज्याङ गाउँ पर्याबरणीय सुन्दरताका दृष्टिले समेत महत्त्वपूर्ण छ। चिसो सिरेटो, प्रष्ट देखिने पोखरा सहर, अझै लोभ लाग्दोगरी देखिने नजिकैका बस्तीहरु, हरियाली सुन्दरता अनि अझै अबिषमरणीय बिहानी सूर्योदयको झुल्को जोकोही आब्ह्वालित नहोस् । वास्तविकग्रामीण पर्यापर्यटनको सुखानुभूति भञ्ज्याङमा लिएपछि अनि सुरु हुन्छ पञ्चासे चुचुरोतिरको २५१७ मि. को प्राकृतिक पदयात्रा। अर्गानिक खानपिन र प्राकृतिक स्वच्छताले हिम्मती बनेका पैताला पञ्चासे उकालोसँगपनि मितेरी गाँस्न पुग्छन्। यात्रा जति माथि लाग्छ उति रमणीय हिमालहरुको प्रष्ट दृष्य र वरपरका गाउँहरुको दृश्याबलोकन गर्दागर्दै सुनाखरी पदमार्गका साथ अगाडि बढ्छ। बिचबिचमा बनाईएका चौतारी, साना पोखरी, पार्क र झरनाहरुले पनि यात्रा सारथीको माया गास्दछन्। लाखौं पुष्प बनस्पति, सैँयौ सुनाखरी र हजारौं लालीगुँरासहरुले सजिएको बनजङ्गले प्राकृतिक माधुर्यको अमिट आनन्द पस्कन्छन्। बाटोमै पर्ने चहुरहरुमा केही समय अडिएर ध्यान, योग र साधना गर्दै प्राकृतिक सौन्दर्यतासँग आध्यात्मिक पक्षको साईनो गाँस्नु अझैमहत्त्वपूर्ण आध्यात्मिक एबं मनोबैज्ञानिक स्वास्थ्यको खुड्किलो बन्नपुग्छ।
बिदेशीहरु आई प्रकृतिको स्वर्गीयकुञ्जमा आई शान्त पर्यटनको आनन्द लिईरहेको देख्दा लाग्छ पञ्चासेमै घरजम गरेर यतै बसौ। प्रकृतिकोयस्तो सुब्यबस्थित संयोजन हेर्दै उकालो चढिसकेपछि आउँछ पञ्चासे पहाड। चारैतिर पुष्प बगान, हरियाली सुन्दरता सँगै लुकामारी खेल्दै पञ्चासे पुगेपछि त्यहाँको प्राकृतिक सौन्दर्यता र मठमन्दिर, भ्युटावर तथा बिश्रामस्थलको आकर्षक संयोजनले यात्रा सार्थक तुल्याउँछ। पञ्चासे सिद्धबाबा मन्दिर, पञ्चासे ताल, गुम्वा, कुटी र मठमन्दिरले आध्यात्मिकताको स्पस्ट पञ्चासेको पहिचान झल्काउँछ। सूर्योदय र सूर्यास्तको दृश्य सँगै प्रकृतिको सुन्दर बनकुसुम डुल्दै पञ्चासे यात्रा हुने गर्दछ। नेपालका उत्कृष्ट १०० पर्यटन गन्तव्यमा पर्ने पञ्चासे प्राकृतिक पर्याबरणीय बिचरणका हिसाबले एकदमै महत्वको क्षेत्रका रुपमा रहेको पञ्चासे सुन्दर प्रकृतिको भूस्वर्ग बाटिकका रुपमा समेत रहको छ। ध्यान, योगा तपस्या जस्ता आध्यात्मिक आयामहरुको समेत महत्त्वपूर्ण शान्त गन्तव्य पञ्चासे पदमार्ग पर्यटनका हिसाबले समेत अति महत्वपुर्ण मानिन्छ।

लेखक पञ्चासे क्षेत्र विकास समिति सदस्यसचिव हुन्।