प्रशिक्षक खोज्दै ब्याडमिन्टनका जुनियर खेलाडी

महेन्द्रनगर । गत वर्ष काठमाडौँमा सम्पन्न राष्ट्रियस्तरको प्रतियोगितामा यू–१२ तर्फ कञ्चपुर महेन्द्रनगरका १३ वर्षीय आशीष खत्रीले कास्य पदक जिते । तीन वर्षअघि महेन्द्रनगरको कवर्डहलमा नियमित ब्याडमिन्टन खेल्न सुरु गरेका खत्रीले राष्ट्रिय प्रतियोगितामा पहिलो पटकमै कास्य पदक जित्न सफल भएका थिए ।

ब्याडमिन्टनमा राम्रो सम्भावना भएका खत्रीलाई अहिले प्रशिक्षक चाहिएको छ । तर प्रशिक्षक पाउन मुस्किल छ । एक वर्ष अघि पनि बिना प्रशिक्षक पदक प्राप्त गरेका खत्री जस्तै कञ्चनपुरका अन्य खेलाडीहरु प्रशिक्षकबिहीन भएको वर्षौ भइसकेको छ ।

नेपाली ब्याडमिन्टनको इतिहासमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर खेलाडी उत्पादनको भूमिका रुपमा परिचित छ । तर सम्भावना भएको क्षेत्रमा प्रशिक्षकको व्यवस्था गर्नका लागि सरोकारवाला कसैले चासो देखाएको पाइएको छैन । 

केही वर्षअघिसम्म स्वयम् सेवक प्रशिक्षकका रुपमा महेन्द्रनगरकै पूर्व राष्ट्रिय खेलाडी विवेक थापाले प्रशिक्षण दिएपनि उनी यतिबेला रोजगारीका सिलसिलामा भारतमा छन् । अहिले पनि कहिलेकाँही केही पूर्वराष्ट्रिय खेलाडीले फुर्सद भए मात्रै खेलाडीलाई बिना पारिश्रमिक प्रशिक्षण दिने गरेका छन् ।

‘हामीलाई नियमित प्रशिक्षण दिने गुरु चाहिएको छ, त्यसो भए धेरै कुरा सिकिन्थ्यो र अगाडि बढ्न सजिलो हुन्थ्यो’, खत्रीले भने, ‘आफूखुसी अभ्यास गर्दा कति सफल हुने हो थाहा छैन ।’ ब्याडमिन्टनका लागि आवश्यक कोर्टलगायत पूर्वाधारको सुविधा भए पनि  प्रशिक्षक अभावले अपेक्षाकृति प्रगति हुन नसकेको खत्रीको भनाइ छ । प्रशिक्षक बिना पनि खत्रीले भने मुलुकभर आयोजना हुने प्रतियोगितामा भने नछुटाइ भाग लिँदै आएका छन् ।

खत्री जस्तै जुनियर खेलाडी रेनिश धामी पनि बिना प्रशिक्षक अभ्यास गरिरहेका छन् । बाह्र वर्षीय धामीले आठ वर्षकै उमेरदेखि नै यहाँको कवर्डहलमा ब्याडमिन्टन खेलिरहेका छन् । उनले गत वर्ष पोखरामा आयोजना भएको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा भाग लिएका थिए ।

‘हलमा नियमित प्रशिक्षण पाए राम्रो गर्न सकिन्थ्यो’, उनले भने, ‘शनिबार अन्य बालबालिकाको पनि भिड हुने भएकाले अभ्यास पनि सहज छैन ।’

’ब्याडमिन्टनका जुनियर खेलाडी आशीष र रेनिश प्रतिनिधिमुलक पात्र मात्रै हुनुहुन्छ । यहाँका सबैजसो जुनियर ब्याडमिन्टन खेलाडी बिना प्रशिक्षक अभ्यास गरिरहेका छन् ।

कञ्चनपुर कुनै समय ब्याडमिन्टनबाटै चर्चित बन्नुभएका खेलाडी दीपेश धामीको भूमि पनि हो । तर एक दशकभन्दा बढी समयदेखि यहाँका खेलाडीहरुले राष्ट्रिय खेलकुद परिषद्बाट प्रशिक्षक पाएका छैनन् ।

कञ्चनपुर जिल्ला व्याडमिन्टन सङ्घका अध्यक्ष मीनराज भट्टले एक दशकअघि राखेपबाट प्रशिक्षक जयन्त श्रेष्ठ यहाँ खटिएको बताए । ‘जयन्त गुरु नै यहाँबाट गएको १० वर्षभन्दा बढी भइसक्यो’, अध्यक्ष भट्टले भने, ‘करारमा भए पनि प्रशिक्षक चाहियो भनेर प्रदेशदेखि केन्द्रसम्म गुहार माग्यौ तर सुनुवाई कतैबाट पनि भएको छैन ।’

उनले सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा व्याडमिन्टन कोर्टका लागि दुई वटा म्याट भने उपलब्ध भएको बताए । ‘प्रदेश खेलकुदबाट करार प्रशिक्षक पाउने आशा थियो’, भट्टले भने, ‘प्रशिक्षक नियुक्तिको विषय सधै ओझेलमा पर्दा प्रतिभावान खेलाडी उत्पादनमा समेत कमी आउन थालेको छ ।’