देवचुली पूर्ण खोप सुनिश्चितता नगरपालिका

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ । 

नगरभित्रका खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि आइतबार देवचुलीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो । नगरपालिका खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख हरिप्रसाद न्यौपानेले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरेका हुन् ।

नगरपालिकामा आर्थिक वर्ष २०८०÷८१ मा वडा नं १ देखि १७ सम्मका १५ महिना  मुनिका आठ सय ७६ बालबालिकालाई पूर्ण खोप लगाइएको छ । त्यस्तै आर्थिक वर्ष २०७९÷८० मा वडा नं १ देखि १७ सम्मका १६ महिनादेखि ५९ महिना मुनिका दुई हजार चार सय सात बालबालिकालाई खोप लगाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताए ।

नगरपालिकामा रहेका एउटा नगर अस्पताल, तीन स्वास्थ्य चौकी, १२ आधारभूत स्वास्थ्य सेवा केन्द्र, २१ खोप केन्द्रबाट २० जना खोप कार्यकर्ताले पालिकाका सबै बालबालिकालाई खोप लगाउने कार्यक्रम पूरा गरिएको जनाएका छन् । 

नगरपालिका खोप समन्वय समितिका संयोजकसमेत रहनुभएका नगरप्रमुख हरिप्रसाद न्यौपानेले खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिका खोपबाट कहिल्यै बञ्चित हुन नहुने बताए । उनले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउन नगरपालिका प्रतिबद्ध रहेको जनाउँदै यसमा स्वाथ्यकर्मीको सबैभन्दा महत्वपूर्ण भूमिका रहने बताए ।

यस पालिका विसं २०७० चैत १२ मा पहिलोपटक पूर्ण खोप नगर घोषणा भएको थियो । पालिकालाई हालसम्म पूर्ण खोप नगरपालिकाको सुनिश्चतता एवं दिगोपनालाई निरन्तरता दिइरहेको छ । आगामी वर्षमा पनि यस कार्यलाई निरन्तर राख्न स्थानीय सरोकारवालाले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।