तनहुँमा अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा

तनहुँ । जिल्लाको घिरिङ गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका ६३ जना अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा प्रक्रियाअघि बढाएको छ ।

अपाङ्गता परिचयपत्र लिएका दुई सय ८२ जनामध्ये पहिलो चरणमा  ‘ग’ वर्गका ४९ र ‘घ’ वर्गका १४ जनाको बीमा गरिदिन लागेको हो । अपाङ्गता भएका व्यक्तिका स्वास्थ्य उपचारमा सहज बनाउन बीमा प्रक्रियाअघि बढाएको गाउँपालिका अध्यक्ष होमबहादुर थापाले बताए ।

उनले भने, ‘आव २०८०÷८१ मा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्न गाउँपालिकाबाट विनियोजित रु चार लाख बजेटमध्येबाट उक्त काम गर्न लागिएको हो ।’ वार्षिक शुल्कवापत जनही रु सात सयका दरले बीमा रकम तिरेपछि रु एक लाखसम्मको स्वास्थ्य उपचार सुविधा पाउन सकिने व्यवस्था छ । 

‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिले तीन हजार तीन सय ९० र ‘ख’ वर्गकाले दुई हजार एक सय २८ मासिक भत्ता प्राप्त गर्छन् ।  ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिले राज्यबाट कुनै सुविधा नपाएकाले गाउँपालिकाले उक्त सुविधा दिने तयारी गरेको हो । 

गाउँपालिकाले गरेको उदाहरणीय कार्यले खुसी छाएको अपाङ्गता समन्वय समिति सदस्य कृष्णप्रसाद अधिकारीले प्रतिक्रिया दिए । ‘परिचयपत्रको आधारमा सेवा सुविधा पाउन थालेपछि अपाङ्गता भएका व्यक्तिमा थप उत्साह मिलेको छ,’ उनले भने, ‘यस्ता कार्यले अपाङ्गता भएका व्यक्तिले राहतको महसुस गरेका छन् ।’ गाउँपालिकाले केही दिनअघि मात्रै १० जना ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई बीउ पुँजीको रूपमा बोयर जातको बाख्रा वितरण गरेको छ । 

गाउँपालिका मातहतका पाँच वटा वडाबाट दुई जनाको दरले अपाङ्गता भएका व्यक्तिलाई जनही एउटा बोयर जातको बाख्रा वितरण गरेको हो । अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाइ आयआर्जनमा सबल बनाउने उद्देश्यले बाख्रा वितरण गरिएको स्थानीय अपाङ्गता समन्वय समिति सदस्य सचिव हिरामान श्रेष्ठले जानकारी दिए ।