पोखरामा असोज ८ देखि क्लबस्तरीय महिला तथा पुरुष भलिबल

कास्की । भलिबल खेलको विकाससँगै नयाँ खेलाडीको प्रतिभालाई प्रस्फुटन गर्नका लागि गण्डकी प्रदेश राजधानी पोखरामा आठौँ संस्करणको खुला क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौँ वार्षिकोत्सवको अवसरमा केन्द्रले यही असोज ९ देखि १३ गतेसम्म नदीपुरस्थित छन्त्याल समाजघरको भलिबल कोर्टमा प्रतियोगिता आयोजना गर्न लागेको संयोजक मनोज खड्काले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फका विजेताले नगद रु एक लाख ३० हजार, उपविजेताले रु ८० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी महिलातर्फको विजेताले नगद रु ५० हजार र उपविजेताले रु ३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुषतर्फको टिममा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको सातौँ, आठौँ र नवौँ प्रतियोगितामा सहभागिता जनाएका तीन जना र महिलातर्फ दुई जना मात्र खेलाडी समावेश गर्न पाउने संयोजक खड्काले बताए ।

पुरुष तर्फका खेल ‘लिगकम नकआउट’ र महिला तर्फका खेल ‘नकआउट सिस्टम’ मा सञ्चालन गरिने छ । विसं २०७३ मा पोखरा भलिबल प्रशिक्षण केन्द्र स्थापना भएको ले नयाँ खेलाडी उत्पादनसँगै सामाजिक कार्यमा काम गर्दै आएको छ ।

प्रतियोगिताका लागि रु १० लाख ३२ हजार खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अवलोकन लागि दर्शकलाई दोस्रो दिनबाट टिकट दर कायम गरिने बताइएको छ ।