वरिष्ठ गिटार वादक संजीव पालको असामयिक निधन

तारादेवी–अरूणा लामा स्मृति स्रष्टा साँझ स्थगित

पोखरा – नेपाली संगीत क्षेत्रमा ठूलो योगदान दिएका वरिष्ठ गिटार वादक संजीव पालको हृदयाघातका कारण असामयिक निधन भएको छ। शुक्रवार (माघ १८) बिहान पोखरास्थित आफ्नै निवासमा आराम गरिरहेकै बेला अचानक उच्च रक्तचापका कारण हृदयाघात भई पाललाई तत्कालै गण्डकी मेडिकल कलेज (GMC) को आपत्कालीन कक्षमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उहाँको निधन भएको खबरले नेपाली संगीतप्रेमीमाझ शोक छाएको छ।

उहाँको अप्रत्याशित निधनको कारणले शनिवार (माघ १९) का लागि तय गरिएको “तारादेवी–अरूणा लामा स्मृति स्रष्टा साँझ” कार्यक्रम स्थगित गरिएको छ। आयोजक संस्था हार्मोनी पोखरा र एभरेस्ट एफ एम ९३ मेगाहर्ज ले संयुक्त विज्ञप्ति जारी गर्दै, "गहिरो शोकको समयमा कार्यक्रम सञ्चालन गर्न असम्भव भएकाले हाललाई स्थगित गरिएको र नयाँ मितिबारे छिट्टै जानकारी गराइनेछ," बताएका छन्।

संजीव पाल नेपाली आधुनिक गीत–संगीतमा विशेष योगदान दिएका प्रतिभाशाली गिटार वादक थिए। उहाँको संगीतमा समर्पण, सरल व्यक्तित्व र कलाप्रेमी भावना सधैँ स्मरणीय रहनेछ।

हार्दिक श्रद्धाञ्जली संजीव पाल!

शोकाकुल परिवारजनमा हार्दिक समवेदना!