‘भ्वाइस’ मा चम्किएकी इन्द्रकलाले गाइन् ‘ताण्डवम’ को ‘ए सानु’

काठमाडौं । महाशिवरात्री अवसरमा फागुन ९ गतेबाट रिलिज हुने फिल्म ‘ताण्डवम’को पहिलो गीत ‘ए सानु’ रिलिज भएको छ । सुशान्त गौतमको शब्द र संगीत रहेको गीतमा इन्द्रकला राईको स्वर छ ।

सुशान्त केसीको ‘बार्दली’ गीतले विश्वब्यापी चर्चित इन्द्रकला पछिल्लो समय टिभी रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को प्रतिस्पर्धामा छिन् । उनले ‘बेहुली फ्रम मेघौली’ र ‘दिमाग खराब’मा पनि स्वर दिएकी छन् ।

इन्द्रकलाको चर्चाले फिल्मको प्रवर्धनमा मद्दत पुग्ने आशा निर्माताको छ । जुनिम गहतराजको डेब्यु निर्देशनमा निर्माण भएको फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ ।

फिल्मले एक नवविवाहित जोडीको कथा भन्छ, जो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा आइलाग्ने अकल्पनिय घटनाको शिकार बन्छन् । यसपछि आउने उतारचढावको कथामा फिल्म बनेको छ । फिल्मलाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ । 

सिंहदेवी प्रोडक्सनले भिजुअल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण गरेको फिल्मको निर्मातामा धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम छन् । हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक छ । कथा, पटकथा र संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।