सरकारद्वारा मुलुकका १४ जिल्लाका फिल्म हलमा नजान आग्रह

पोखरा भ्वाइस सम्वाददाता, बैशाख ४, काठमाडौं 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका १४ जिल्लालाई कोरोनाबाट अति प्रभावित क्षेत्रको रुपमा घोषणा गर्दै त्यहाँका फिल्म हल र भीडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ ।

मन्त्रालयले विज्ञप्ती जारी गर्दै ती क्षेत्रमा कोरोनाभाइरसको नयाँ प्रजातिको फैलिएको र संक्रमणको उच्च जोखिम कायम भएकाले ती जिल्लामा संचालन भएका फिल्म हल, रेष्टुरेन्ट र सपिङ मलमा नजान आग्रह गरेको हो ।

मन्त्रालयले ती क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा कडाइ गर्न पनि आग्रह गरेको छ । मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ कोरोनाको अति प्रभावित जिल्ला बनेका छन् ।

मन्त्रालयले ती जिल्लामा अत्यावश्यक नभई घरबाहिर ननिस्कन समेत आग्रह गरेको छ । तर, स्वास्थ्यको मन्त्रालयको यो विज्ञप्तीलाई फिल्म सम्बद्ध निकायले कुनै प्रतिक्रिया दिएका छैनन् । फिल्म हलहरु चलिरहेपनि न्यून अकुपेन्सीमा फिल्म प्रदर्शन भैरहेका छन् ।

फिल्म हलको छाता संस्था चलचित्र संघका गोपाल कायस्थले सरकारको आग्रहबारे चाँडै बस्ने संघको बैठकमा छलफल हुने बताए ।